भक्तपुरबाट सिक्नुपर्ने पाठ

Jul 07, 2022
भक्तपुरबाट सिक्नुपर्ने पाठ image

के हामी नेपालको अरू भागलाई पनि भक्तपुरको जस्तै स्वास्थ्य सेवामा अग्रणीरुपी बनाउँदै लान सक्छौँ ? के हामी यस्तै राम्रो राजनीतिक सुसंस्कार विकास गर्न सक्छौँ ? के सामाजिक विसंगति हटाएर व्यक्तिगत स्वार्थभन्दा माथि समाज र राष्ट्रलाई राख्न सक्छौँ ? के हामी म प्रवृत्तिको कुण्ठालाई छिचोलेर मानव हितका लागि तत्पर छौँ ?

यदि हामी नेपालको स्वास्थ्य परिवेशलाई तथ्यांकको आधारमा हेर्छौं भने स्थिति दयनीयभन्दा पनि तल छ । वार्षिक मृत्युदर, शिशु मृत्युदर, मातृ मृत्युदर या कुनै पनि स्वास्थ्यको आँकडा लिऔँ, त्यो हीनताबोधी छ । म नेपालको स्वास्थ्य अवस्थालाई दुई तहमा केलाउन चाहान्छु । पहिलो स्वास्थ्यका पूर्वाधारहरू र दोस्रो स्वास्थ्यका जनशक्ति । पूर्वाधारको कुरा गर्दा प्रत्येक वार्षिक बजेटमा ‘स्वास्थ्य’ले दोस्रो वा तेस्रो (पहिलो शिक्षा र आन्तरिक प्रशाशन पछि) स्थान पाउँछ । तर त्यसको सही सदुपयोगिता, त्यसको सही परिचालन र समग्रमा भन्नुपर्दा त्यसको सही व्यवस्थापन भएको छैन । त्यसकै हविगतले होला ५० प्रतिशतभन्दा बढी जनसंख्या प्राथमिक स्वास्थ्यबाट पनि वञ्चित छन् । भएका पूर्वाधारहरूको पनि अनुपयोगिता (प्रसंग– बिपी कोइराला स्वास्थ्य विज्ञानप्रतिष्ठान लगायतका सरकारी निकायमा थन्किएका करोडौँ मूल्यका उपकरणहरू) ले समस्यालाई अझैं मलजल दिइरहेको छ । सरकारी र अर्ध सरकारी निकायमा भएका चरम भ्रष्टाचार, अख्तियारको दुरुपयोग र राजनीतिक अराजकताले आगोमा घ्यू थप्ने काम गरेको छ । गाउँ एवं दुर्गम भेगहरूमा सरकार र स्थानीय निकायको अगन्य उपस्थिति हामी सबैमा जगजाहेर नै छ ।

अर्को पाटो भनेको उनशक्ति हो । उपकरणले मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन, त्यसलाई चलाउन त सही परिचालक चाहिन्छ । यसमा पनि नेपाल मायालाग्दो अवस्थामा छ । चिकित्सक, प्राविधिक व्यक्ति, औषधि उत्पादक आदिले स्वास्थ्य जनशक्तिको निर्माण हुन्छ । नेपालीहरूमा दक्षताको कमी छैन तर सही दक्षहरू भनाउँदा विदेशी डलरमा किल्ला गाढेर बसेका हुन्छन् । यसमा उनीहरूको मात्र गल्ती देखिँदैन । आफूले गरेको श्रमको सही मूल्यांकन गर्न, आफ्नो दक्षतालाई अहिलेको बदलिँदो समाजमा रूपान्तरण गर्न र आफ्नो दक्षताको स्तर बढाउन पनि उनीहरू बिदेसिएको मेरो अनुमान छ । यसमा पनि म नीति निर्माताहरूको अदूरदर्शिता र भविष्यको अज्ञानतालाई नै दोष दिनुपर्ने हुन्छ । दुई दर्जनभन्दा बढी स्वास्थ्य शिक्षण संस्था भएता पनि लोभ, लालच र सोर्सफोर्सले गर्दा जनशक्ति निर्माणलाई ………. गरेको अनुभूति गर्दछु, सायद आफैं एउटा चिकित्सक भएर होला ।

यी त भए मैले सतही रूपमा देखेका बेथितिहरू । अझ केलाउँदै जाने हो भने सायद मेरो कलमको मसी सकिन्छ होला तर स्वास्थ क्षेत्रको विकराल समस्याहरू प्रकाशमा आउँदैन । तर आफैँ एउटा चिकित्सक भएर होला अझ पनि आश मरेको छैन, एक सुदृढ र सबल स्वास्थ समाजको निर्माण गर्न । भन्छन नि कमलको फूल पनि हिलोमा न फुल्छ, सबै औँलाहरू बराबर हुँदैन, त्यसैले म मेरो कलमका धारलाई भक्तपुर जिल्लाको स्वास्थ स्थितिमा केन्द्रित गर्न चाहान्छु । सायद मैले मेरो युवा जोशका दुई/चार वर्ष खर्च गरेको भूमि, मेरो कर्मथलो भएर होला ।

हुन त स्वास्थ क्षेत्रमा आशातीत व्यक्तित्वहरू नभएका होइनन्, कसैलाई गोविन्द केसीको सेवा र समर्पणले प्रभावित गर्यो होला, कसैलाई उपेन्द्र देवकोटाको विद्वताले या कसैलाई स्वास्थ मन्त्री भएका गगन थापा जस्ता नेताका नीति तथा बोलीले । तर वस्तुपरक भएर अध्ययन गर्दा अचानोको पिर खुकुरीलाई थाहा हुँदैन भनेझैँ मैले काम गर्ने संस्थाले अनेकन समस्याहरूसँग जुध्दै, समाधान गर्दै स्वास्थ्य समाजमा नयाँ आयाम थपेको छ ।

म भर्खरै यस क्षेत्रमा आफनो पाइला चाल्दै गरेको युवा, तर मेरो सोचले म मात्र होइन, म जस्ता लाखौँ जोशहरूलाई प्रतिनिधित्व गर्छ । म यसलाई आप्mनो निचोड त भन्दिनँ, तर म तुषारो लागेको बिहानीमा आशाको किरण देख्दै छु र सूर्यको प्रकाशले हिमाललाई सुनौलो हुने गरी टल्काएको महसुस गर्दछु । भक्तपुरलाई म स्वास्थ क्षेत्रमा गरेको प्रगतिप्रति सबैभन्दा सम्भावना बोकेको सहरको रूपमा अग्रणीमा राख्दछु ।

यहाँ स्वास्थ क्षेत्रलाई हरेक वर्गले गम्भीर रूपमा लिएको भान गर्दछु । यहाँ भएका स्वास्थ क्षेत्रका पूर्वाधारहरूलाई दिनप्रतिदिन व्यवस्थित र स्तरीय बनाइँदै छ । यहाँ हरेक नागरिकलाई स्वास्थ्यको सुलभ पहुँचका लागि स्थानीय निकाय, भक्तपुरका राजनीतिकर्मीहरूको अहोरात्र मिहिनेत र दूरदर्शिता जगजाहेर छ । अझ यहाँ स्थानीय रूपमा गरिएका कामहरू जस्तै स्वास्थ्य बिमाको सर्वसाधारणको पहँुच, निम्न पैसामा बहिरंग सेवा आदि अझ सराहनीय छ । हरेक वडामा स्वास्थ संस्थाको उपस्थितिले समाजमा स्थानीय सरकारको राम्रो उपस्थितिको आभास दर्साउँछ जसले मानिसको सरकारप्रतिको भरोसा कायम राख्दछ । अझ पूर्वाधारको विकास भइरहेको अवस्थामा म जस्तो काँचो युवाले अथाह सुनौलो भविष्य बुनिरहेको छु ।

सानो तर महत्वपूर्ण कुरा भनेको कुनै पनि गन्तव्यमा पुग्न सबैभन्दा पहिलो कुरा सुरुआतको पहिलो कदम हो । एउटा पाइलाले नै गन्तव्यको नीव राख्दछ । त्यस्तै अवस्थामा हाम्रो स्वास्थ्य स्थिति पुगेको छ । नेपालको समग्र स्वास्थ्य अवस्था अध्ययन गर्दा भक्तपुरले स्वास्थ्यमा धेरै सम्भावना बोकेको देख्दछु । एक हातले ताली बज्दैन भनेझैँ यहाँ एक जनाको मिहिनेतले मात्र गर्दा भक्तपुर यो अवस्थामा आएको होइन । सय थरी बाजा एउटै ताल भनेझैँ यहाको समाज, स्थानीय सरकार र भक्तपुरका अग्रज राजनीतिज्ञहरूको हात र साथ छ ।

मेरो बाल्य अवस्थादेखि नै नारायणमान बिजुक्छे रोहितले मजदुर र किसानका लागि गरेका असीम कार्यहरू मगजमा घुम्छन् । केन्द्रको सरकारसँग जुधेर होस् वा सामाजिक अभियन्ता भएर, भक्तपुर यिनको अभिभावकीय भूमिकामा ‘जुःजुः द्यौ’ झैं मिठिएको छ । त्यसैले त भक्तपुरको सामाजिक आधार बलियो छ । अझ सुनिल प्रजापति, प्रेम सुवाल जस्ता जुझारु नेताहरूले यो विरासत अघि बढाइरहेका छन् । छिमेकी जिल्लाहरू काठमाडौं र ललितपुरमा जस्ता पाँच तारे अस्पतालको आवश्यकता छैन भक्तपुरवासीलाई, जसले स्वास्थ्को नाममा पैसाको मात्र व्यपार गर्छन् । यहाँका अग्रणीकै अथक प्रयासले यहाँको सार्वजनिक स्वास्थ संस्थाले विश्वस्तरीय सेवा दिइरहेको छ । यसलाई म राजनीतिक सुसंस्कारकै संज्ञा दिन्छु । नेपाल मजदुर किसान पार्टी चाहे सत्तामा भएको अवस्थामा होस् या विपक्षमा, यसको समाजका आधारभूत आवश्यकता र हकहितको लागि जहिले पनि आवाज बुलन्द छ । त्यसैले त यहाँ सामाजिक विभेद कम छ, मानिसको चेतना बढी छ जसले एउटा स्वास्थ्य समाजको निर्माण गर्न मद्दत गरेको छ ।

फेरि आफनो चञ्चले मनमा घुम्छु, सोच आकाशिन्छ अनि मनमा एउटा प्रश्न उब्जन्छ, के हामी नेपालको अरू भागलाई पनि भक्तपुरको जस्तै स्वास्थ्य सेवामा अग्रणीरूपी बनाउँदै लान सक्छौँ ? के हामी यस्तै राम्रो राजनीतिक सुसंस्कार विकास गर्न सक्छौँ ? के सामाजिक विसंगति हटाएर व्यक्तिगत स्वार्थभन्दा माथि समाज र राष्ट्रलाई राख्न सक्छौँ ? के हामी म प्रवृत्तिको कुण्ठालाई छिचोलेर मानव हितको लागि तत्पर छौँ ?

सन्दर्भ : ‘स’ ‘स’ नेपाली वर्णमालाको एक सदस्य । ‘स’ का अथाह शब्दहरू होलान् । सोचकै उपज न त हो । साथ, सहयोग, सहकार्य आदि इत्यादिले यसको महिमा गाउँछन् । अझै घोत्लिँदै जान्छु, बृहत्तरतातिर उम्कन्छु, सगरमाथारूपी आफ्नो सन्दर्भ केलाउँछु अनि आउँछ आफू जिउने धरातल–सपरिवार, साथी र समाज । तर ‘स’ बाट हुने सुख, समृद्धि, शक्ति, शान्ति, सम्पत्तिहरूको महत्व अर्कै छ, संस्कृति बेग्लै छ । तर यी माथि उल्लिखित ‘स’ का सबै शब्दहरू भन्दा उपल्लो दर्जाको शब्द, मेरो सोचलाई लाग्दछ, त्यो हो, ‘स्वास्थ्य’ । मेरो सोचको प्रवेश बल्ल सुरु भयो ।

भन्छन् स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । स्वास्थ्य नै यउटा यस्तो चिज हो जसले मानवलाई जन्म भएदेखि मृत्युसम्म परिभाषित गर्दछ । स्वास्थ्यका दुई मुख्य पाटा छन्, भौतिकवाद र मनोवाद । यदि मानव मन र तन स्थिर भयो भने उसले कायापलट गर्न सक्दछ ।

वस्तुगत हिसाबमा यदि यो लेख लेख्छु भने सायद मेरा भाव पोख्न मलाई शब्दको अभाव होला, यसर्थ म मेरो ‘स’ को सन्दर्भलाई स्वास्थ्यसँग जोड्न चाहन्छु । हरेक इतिहास, धर्म, संस्कृतिसँग समान र गहिरो सम्बन्ध राख्दछ स्वास्थ्यले । चाहे त्यो ग्रिकको भगवान् ‘अपोलो’ होस् या हिन्दू धर्मको ‘धन्वन्तरी’, प्रसंग उठ्छ हामी रहेको समाजको स्वास्थ्यको । यो एक विशाल सागररूपी भारि शक्ति हो–स्वास्थ्य ।

नेपालसँग स्वास्थ्यलाई एकीकृत गर्दा यसले अनेक आयमहरू छुन्छ । स्वास्थ्यलाई व्यक्तिगत नजरभन्दा पनि सामाजिक चश्मा दिन जरुरी हुन्छ । स्वास्थ्य आपैmँमा एउटा ब्रह्माण्ड हो । यसको परिभाषा खोज्दै जाँदा अनेक प्रसंग र हरप्रकारका उपकरणहरू जोडिन्छन्, जस्तै स्वास्थ्य संख्या, चिकित्सक, स्वास्थ्य सेवाका लागि खटिएका स्वास्थ्यकर्मी, औषधि आदि इत्यादि ।

स्वास्थ्य र नेपालको सन्दर्भलाई फेरि ‘स’ कै सहायता चाहिन्छ । ‘सायद’ नेपालको स्वास्थ्य स्थिति राम्रो भएको भए यसो हुन्थ्यो, त्यसो हुन्थ्यो इत्यादि । प्रश्न गम्भीर छ र उत्तर सायद हो, ‘स’ ।

स्रोत: Souryaonline

Related News

Remarking World environment Day 2026 we completed cleaning campaign at Khwopa hospital and its periphery image

Remarking World environment Day 2026 we completed cleaning campaign at Khwopa hospital and its periphery

विश्व वातावरण दिवस २०२६ को अवसरमा आज ख्वप अस्पताल तथा यसको वरपरको क्षेत्रमा सरसफाइ...

June 05, 2026
QR प्रविधिमा आधारित ल्याब रिपोर्ट वितरण image

QR प्रविधिमा आधारित ल्याब रिपोर्ट वितरण

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले सेवाग्राहीको समय बचत र सेवा सहज बनाउन QR प्रविधिमा...

January 05, 2026
ख्वप अस्पतालको आयोजनामा पोषाण सम्बन्धी बृहत प्रदर्शनी image

ख्वप अस्पतालको आयोजनामा पोषाण सम्बन्धी बृहत प्रदर्शनी

राष्ट्रिय पोषण सप्ताह अन्तर्गत ख्वप अस्पतालको आयोजनामा भक्तपुरको दत्तात्रय ( २०८१ जेष्ठ ६ गते...

May 23, 2024

भक्तपुर नगरपालिकाको निति तथा कार्यक्रम २०७८/७९ !

– ख्वप अस्पताललाई सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न यही वर्ष देखि सिटी स्क्यान सेवा सञ्चालनमा‌ ल्याईनेछ र आवश्यकता अनुसार विशेषज्ञ सेवा थप्दै लगिने छ  !!!
– ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालन गरिनेछ।

Emergency 24/7 Click here