भक्तपुर नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्य गर्दै आएको छ । घर दैलो नर्सिङ, केही वडाहरुमा चिकित्सक सहित स्वास्थ्य केन्द्रको स्थापना र १०० शय्याको ख्वप अस्पताल संचालन गरी जनताको सेवा गर्दै आएको छ । यस अस्पतालले बिशेषज्ञ चिकित्सकहरुद्वारा विभिन्न रोगका बिरामीहरुलाई उपचार प्रदान गर्दै आएको छ । अस्पतालप्रति जनताले देखाएको विश्वासप्रति हामी आभार व्यक्त गर्दछौं ।
ख्वप अस्पताललाई जनताको अस्पतालको रुपमा विकास गर्ने प्रयत्न गर्दैछौं । यस अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रुपमा विकास गर्न आवश्यक स्वास्थ्य उपकरणहरु र जनशक्ति क्रमशः बढाउँदैछौं । कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट बंचित हुन नपारोस् भन्ने भावनाकासाथ सस्तो र गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्न हामी निरन्तर लागि परेका छौं ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीबीच ख्वप अस्पतालले आफ्नो पहिचान कायम गर्यो । जनस्वास्थ्य सेवा केन्द्रलाइृ स्तरोन्नति गर्दै २०७८ साल बैशाख १७ गतेबाट ख्वप अस्पतालको नाउँबाट सेवा शुरु गरेको अस्पताल २०७३ सालमै २५ शय्याको स्वीकृति प्राप्त अस्पताल हो । अस्पताल संचालनमा आएको एक वर्षमै सबै आवश्यक पूर्वाधारहरु तयार गरी २०७९ साल जेष्ठ २३ गते बागमती प्रदेशबाट १०० शय्याको स्वीकृति प्राप्त गरेको थियो ।
जनताको सहयोगले अस्पतालमा जडित अक्सिजन प्लान्टबाट सम्पूर्ण नगरबासीहरुलाई निःशुल्क अक्सिजन वितरण गर्दै आएको छ भने भक्तपुर नगरपालिकाले सम्पूर्ण नगरबासीहरुलाई निःशुल्क रगतको पनि व्यवस्था गर्दै आएको छ ।
निजीकरणको कारण स्वास्थ्य उपचार अत्यन्त महँगो छ । सम्पूर्ण जनताले गुणस्तरीय उपचार पाउन् र कोही पनि व्यक्ति उपचारबाट बन्चित नहोस भन्ने उद्देश्यले गरिबहरुका लागि निःशुल्क उपचारको व्यवस्था पनि मिलाउँदै आएका छौं । जनताको सेवा बाहेक जन प्रतिनिधिहरुको कुनै छुटै स्वार्थ छैन । त्यही भावनाअनुसार अस्पताल व्यवस्थापन समिति, चिकित्सकहरु र कार्यरत सम्पूर्ण कर्मचारीहरु एकताबद्ध भएर काम गर्दैछौं ।
हामी स्थानीय जनतासँग हातेमालो गरेर अगाडि बढ्दै छौं । अस्पतालको कमी कमजोरीलाई समयमै रचनात्मक आलोचना गरी सुधार्ने अवसर दिनु भएका सम्पूर्ण नगरबासीहरुलाई धन्यवाद दिन चाहन्छौं । नगरबासीहरुको साथ र सहयोगले नै छोटो समयमा ख्वप अस्पतालले जनताको मन जित्न सफल भएको हो । अस्पतालको प्रगतिको निम्ति गरिने रचनात्मक आलोचना र सुझावको हामी संधैं स्वागत गर्द छौं । आगामी दिनहरुमा पनि त्यस्तै सहयोगको अपेक्षा गर्द छौं । धन्यवाद !