QR प्रविधिमा आधारित ल्याब रिपोर्ट वितरण
Jan 05, 2026
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले सेवाग्राहीको समय बचत र सेवा सहज बनाउन QR प्रविधिमा आधारित ल्याब रिपोर्ट वितरण प्रणाली सुरु गरेको छ। अब अस्पतालमा ल्याब रिपोर्ट लिन लाइन बस्नुपर्ने झन्झट हटेको छ।
अस्पतालबाट बिल भुक्तानीपछि प्राप्त हुने बिलमा उल्लेख गरिएको QR Code Scan गर्नासाथ केही सेकेन्डमै सम्बन्धित ल्याब रिपोर्ट प्रिन्ट भएर आउने व्यवस्था मिलाइएको छ। यस प्रणालीमार्फत सेवाग्राहीले छिटो, सरल र पारदर्शी ढंगले आफ्नो रिपोर्ट प्राप्त गर्न सक्नेछन्।
डिजिटल प्रविधिको प्रयोगले सेवाग्राहीको भीड व्यवस्थापनमा सहयोग पुग्नुका साथै कर्मचारीको कार्यभार पनि घट्ने अपेक्षा छ। साथै, रिपोर्ट वितरण प्रक्रियामा हुने ढिलाइ र असुविधा हट्ने विश्वास छ।
ख्वप अस्पतालले प्रविधिमैत्री सेवा विस्तार गर्दै नागरिकमैत्री स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यअनुसार यस किसिमका नवीन प्रणालीलाई क्रमशः थप गर्दै जाने छ।