मानिसको चेतनाबाटै स्वस्थ समाजको निर्माण सम्भव

Jul 07, 2022
मानिसको चेतनाबाटै स्वस्थ समाजको निर्माण सम्भव image

सन्दर्भः ‘स’
‘स’ नेपाली वर्णमालाको एक सदस्य । ‘स’ का अथाह शब्दहरू होलान् । सोचकै उपज न त हो । साथ, सहयोग, सहकार्य इत्यादिले यसको महिमा गाउँछन् । अझै घोत्लिदै जान्छु, बृहत्तरतातिर उम्कन्छु, सगरमाथारूपी आफ्नो सन्दर्भ केलाउँछु अनि आउँछ आफू जिउने धरातल–सपरिवार, साथी र समाज । तर, ‘स’ बाट हुने सुख, समृद्ध, शक्ति, शान्ति, सम्पत्तिहरूको महत्व अर्कै छ, संस्कृति बेग्लै छ । तर, यी माथि उल्लिखित ‘स’ का सबै शब्दहरूभन्दा उपल्लो दर्जाको शब्द, मेरो सोचलाई लाग्दछ, त्यो हो– ‘स्वास्थ्य’ । मेरो सोचको प्रवेश बल्ल सुरु भयो ।
भनिन्छ, स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो । स्वास्थ्य नै एउटा यस्तो चिज हो जसले मानवलाई जन्म भएदेखि मृत्युसम्म परिभाषित गर्दछ । स्वास्थ्यका दुई मुख्य पाटा छन्– भौतिकवाद र मनोवाद । यदि मानव मन र तन स्थिर भयो भने उसले कायापलट गर्न सक्दछ ।
वस्तुगत हिसाबमा यदि यो लेख लेख्छु भने सायद मेरो भाव पोख्न मलाई शब्दको अभाव होला । यसर्थ, म मेरो ‘स’ को सन्दर्भलाई स्वास्थ्यसँग जोड्न चाहन्छु ।
हरेक इतिहास, धर्म, संस्कृतिसँग समान र गहिरो सम्बन्ध राख्दछ स्वास्थ्यले । चाहे त्यो ग्रीकको भगवान् ‘अपोलो’ होस् या हिन्दू धर्मको ‘धन्वन्तरी’ । प्रसङ्ग उठ्छ, हामी रहेको समाजको स्वास्थ्यको । यो एक विशाल सागररूपी भारि शक्ति हो–स्वास्थ्य ।
नेपालसँग स्वास्थ्यलाई एकीकृत गर्दा यसले अनेक आयामहरू छुन्छ । स्वास्थ्यलाई व्यक्तिगत नजरभन्दा पनि सामाजिक चस्मा दिन जरुरी हुन्छ । स्वास्थ्य आफैमा एउटा ब्रह्माण्ड हो । यसको परिभाषा खोज्दै जाँदा अनेक प्रसङ्ग र हर प्रकारका उपकरणहरू जोडिन्छन् । जस्तैः स्वास्थ्य सङ्ख्या, चिकित्सक, स्वास्थ्य सेवाका लागि खटिएका स्वास्थ्यकर्मी, औषधि आदि ।
स्वास्थ्य र नेपालको सन्दर्भलाई फेरि ‘स’ कै सहायता चाहिन्छ । ‘सायद’ नेपालको स्वास्थ्य स्थिति राम्रो भएको भए यसो हुन्थ्यो, त्यसो हुन्थ्यो इत्यादि । यदि हामी नेपालको स्वास्थ्य परिवेशलाई तथ्याङ्कको आधारमा हेर्छौँ भने स्थिति दयनीत्र्न्दा तल छ । वार्षिक मृत्युदर, शिशु मृत्युदर, मातृ मृत्युदर या कुनै पनि स्वास्थ्यको आँकडा लिऔँ, त्यो हिनताबोधी छ । म नेपालको स्वास्थ्य अवस्थालाई दुई तहमा केलाउन चाहन्छु । पहिलो स्वास्थ्यका पूर्वाधारहरू र दोस्रो स्वास्थ्यको जनशक्ति । पूर्वाधारको कुरा गर्दा प्रत्येक वार्षिक बजेटमा ‘स्वास्थ्य’ ले दोस्रो वा तेस्रो (पहिलो शिक्षा र आन्तरिक प्रशासन) स्थान पाउँछ । तर, त्यसको सही सदुपयोगिता, त्यसको सही परिचालन र समग्रमा भन्नु पर्दा त्यसको सही व्यवस्थापन भएको छैन । त्यसकै हविगतले होला ५० प्रतिशतभन्दा बढी जनसङ्ख्या प्राथमिक स्वास्थ्यबाट वञ्चित छन् । भएका पूर्वाधारहरूको पनि अनुपयोगिता (प्रसङ्ग– बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका सरकारी निकायमा थन्किएका करोडौँ मूल्यका उपकरणहरू) ले समस्यालाई अझैँ मलजल दिइरहेको छ । सरकारी र अर्ध–सरकारी निकायमा भएका चरम भ्रष्टाचार, अख्तियारको दुरूपयोग र राजनीतिक अराजकताले आगोमा घ्यू थप्ने काम गरेको छ । गाउँ एवं दुर्गम भेगहरूमा सरकार र स्थानीय निकायको अगन्य उपस्थिति हामी सबैमा जगजाहेर नै छ  । अर्को पाटो भनेको जनशक्ति हो । उपकरणले मात्र स्वास्थ्य क्षेत्रमा सुधार हुँदैन, त्यसलाई चलाउन त सही परिचालक चाहिन्छ । यसमा पनि नेपाल मायालाग्दो अवस्थामा छ । चिकित्सक, प्राविधिक व्यक्ति, औषधि उत्पादक आदिले स्वास्थ्य जनशक्तिको निर्माण हुन्छ । नेपालीहरूमा दक्षताको कमी छैन तर सही दक्षहरू MLE र LAP भनाउँदा विदेशी डलरमा किल्ला गाडेर बसेका हुन्छन् । यसमा उनीहरूको मात्र गल्ती देखिँदैन । आफूले गरेको श्रमको सही मूल्याङ्कन गर्न, आफ्नो दक्षतालाई अहिलेको बदलिँदो समाजमा रूपान्तरण गर्न र आफ्नो दक्षताको स्तर बढाउन पनि उनीहरू विदेशिएको मेरो अनुमान छ । यसमा पनि नीति निर्माताहरूको अदूरदर्शिता र भविष्यको अज्ञानतालाई नै दोष दिनुपर्ने हुन्छ । दुई दर्जनभन्दा बढी स्वास्थ्य शिक्षण संस्था भए तापनि लोभ, लालच र सोर्सफोर्सले गर्दा जनशक्ति निर्माणलाई पक्षपात गरेको अनुभूति गर्दछु, सायद आफै एउटा चिकित्सक भएर होला ।
यी त भए मैले सतही देखेका बेथितिहरू । स्वास्थ्य क्षेत्रको विकराल समस्याहरू पकाशमा आउँदैन । तर, आफै एउटा चिकित्सक भएर होला अझ पनि आस मरेको छैन, एक सुदृढ र सबल स्वस्थ समाजको निर्माण गर्न । त्यसैले, म मेरो कलमका धारलाई भक्तपुर जिल्लाको स्वास्थ्य स्थितिमा केन्द्रित गर्न चाहन्छु ।
हुन त स्वास्थ्य क्षेत्रमा आशातीत व्यक्तित्वहरू नभएका होइनन्, कसैलाई गोविन्द केसीको सेवा र समर्पणले प्रभावित गर्यो होला, कसैलाई उपेन्द्र देवकोटाको विद्वताले या कसैलाई स्वास्थ मन्त्री भएका गगन थापाजस्ता नेताका नीति तथा बोलीले । तर, वस्तुपरक भएर अध्ययन गर्दा अचानोको पिर खुकुरीलाई थाहा हुँदैन भनेझैँ मैले काम गर्ने संस्थाले अनेकन समस्याहरूसँग जुध्दै, समाधान गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थपेको छ ।
म भर्खरै यस क्षेत्रमा आफ्नो पाइला चाल्दै गरेको युवा, तर मेरो सोचले ममात्र होइन, मजस्ता लाखौँ जोशहरूलाई प्रतिनिधित्व गर्छ  । म यसलाई आफ्नो निचोड त भन्दिनँ, तर म तुसारो लागेको बिहानीमा आशाको किरण देख्दै छु र सूर्यको प्रकाशले हिमाललाई सुनौलो हुने गरी टल्काएको महसुस गर्दछु । भक्तपुरलाई म स्वास्थ्य क्षेत्रमा गरेको प्रगतिप्रति सबैभन्दा सम्भावना बोकेको सहरको रूपमा अग्रणीमा राख्दछु  ।
यहाँ स्वास्थ्य क्षेत्रलाई हरेक वर्गले गम्भीररूपमा लिएको भान गर्दछु । यहाँ भएका स्वास्थ्य क्षेत्रका पूर्वाधारहरूलाई दिन प्रतिदिन व्यवस्थित र स्तरीय बनाइँदै छ । यहाँ हरेक नागरिकलाई स्वास्थ्यको सुलभ पहँुचको लागि स्थानीय निकाय, भक्तपुरका राजनीतिज्ञहरूको अहोरात्र मिहेनत र दूरर्दिर्शता जगजाहेर छ । अझ यहाँ स्थानीयरूपमा गरिएका कामहरू जस्तैः स्वास्थ्य बीमाको सर्वसाधारणको पहँुच, निम्न पैसामा बहिरङ्ग सेवा आदि अझ सराहनीय छ । हरेक वडामा स्वास्थ्य संस्थाको उपस्थितिले समाजमा स्थानीय सरकारको राम्रो उपस्थितिको आभास दर्साउँछ जसले मानिसको सरकारप्रतिको भरोसा कायम राख्दछ । अझ पूर्वाधारको विकास भइरहेको अवस्थामा मजस्तो काँचो युवाले अथाह सुनौलो भविष्य बुनिरहेको छ ।
सानो तर महत्वपूर्ण कुरा भनेको कुनै पनि गन्तव्यमा पुग्न सबैभन्दा पहिलो कुरा सुरुआत नै पहिलो कदम हो । एउटा पाइलाले नै गन्तव्यको नीव राख्दछ । त्यस्तै अवस्थामा हाम्रो स्वास्थ्य स्थिति पुगेको छ । नेपालको समग्र स्वास्थ्य अवस्था अध्ययन गर्दा भक्तपुरले स्वास्थ्यमा धेरै सम्भावना बोकेको देख्दछु । एक हातले ताली बज्दैन भनेझैँ यहाँ एक जनाको मिहेनतले मात्र भक्तपुर यो अवस्थामा आएको होइन । सय थरी बाजा एउटै ताल भनेझैँ यहाको समाज, स्थानीय सरकार र भक्तपुरका अग्रज राजनीतिज्ञहरूको हात र साथ छ ।
मेरो बाल्य अवस्थादेखि नै नारायणमान बिजुक्छेँ (रोहित) ले मजदुर र किसानको लागि गरेका असीम कार्यहरू मगजमा घुम्छन् । केन्द्रको सरकारसँग जुधेर होस् वा सामाजिक अभियन्ता भएर, भक्तपुर यिनको अभिभावकीय भूमिकामा जुःजु धौझैँ मिठिएको छ । त्यसैले त भक्तपुरको सामाजिक आधार बलियो छ । अझ सुनिल प्रजापति, प्रेम सुवालजस्ता जुझारु नेताहरूले यो विरासत अघि बढाइरहेका छन् । छिमेकी जिल्लाहरू काठमाडौँ र ललितपुरमा जस्ता पाँचतारे अस्पतालको आवश्यकता छैन भक्तपुरवासीलाई, जसले स्वास्थ्यको नाममा पैसाको मात्र व्यापार गर्छन् । यहाँका अग्रणीकै अथक प्रयासले यहाँको सार्वजनिक स्वास्थ्य संस्थाले विश्वस्तरीय सेवा दिइरहेको छ । यसलाई म राजनीतिक सुसंस्कारकै संज्ञा दिन्छु । नेपाल मजदुर किसान पार्टी समाजको आधारभूत आवश्यकता र हकहितको लागि जहिले पनि आवाज बुलन्द गर्छ । त्यसैले यहाँ सामाजिक विभेद कम छ, मानिसको चेतना बढी छ जसले एउटा स्वस्थ्य समाजको निर्माण गर्न मद्दत गरेको छ  ।
फेरि आफ्नो चञ्चले मनमा घुम्छु, सोच आकासिन्छ अनि मनमा एउटा प्रश्न उब्जिन्छ, के हामी नेपालको अरू भागलाई पनि भक्तपुरको जस्तै स्वास्थ्यमा अग्रणीरूपी बनाउँदै लान सक्छौँ ? के हामी यस्तै राम्रो राजनीतिक सुसंस्कार विकास गर्नसक्छौँ ? के सामाजिक विसङ्गति हटाएर व्यक्तिगत स्वार्थभन्दा माथि समाज र राष्ट्रलाई राख्न सक्छौँ ? के हामी म प्रवृत्तिको कुण्ठालाई छिचोलेर मानव हितको लागि तत्पर छौँ ? प्रश्न गम्भीर छ र उत्तर सायद ‘स’ ।

स्रोत:Onlinemajdoor

Related News

QR प्रविधिमा आधारित ल्याब रिपोर्ट वितरण image

QR प्रविधिमा आधारित ल्याब रिपोर्ट वितरण

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले सेवाग्राहीको समय बचत र सेवा सहज बनाउन QR प्रविधिमा...

January 05, 2026
ख्वप अस्पतालको आयोजनामा पोषाण सम्बन्धी बृहत प्रदर्शनी image

ख्वप अस्पतालको आयोजनामा पोषाण सम्बन्धी बृहत प्रदर्शनी

राष्ट्रिय पोषण सप्ताह अन्तर्गत ख्वप अस्पतालको आयोजनामा भक्तपुरको दत्तात्रय ( २०८१ जेष्ठ ६ गते...

May 23, 2024
भक्तपुरबाट सिक्नुपर्ने पाठ image

भक्तपुरबाट सिक्नुपर्ने पाठ

के हामी नेपालको अरू भागलाई पनि भक्तपुरको जस्तै स्वास्थ्य सेवामा अग्रणीरुपी बनाउँदै लान सक्छौँ...

July 07, 2022

भक्तपुर नगरपालिकाको निति तथा कार्यक्रम २०७८/७९ !

– ख्वप अस्पताललाई सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्न यही वर्ष देखि सिटी स्क्यान सेवा सञ्चालनमा‌ ल्याईनेछ र आवश्यकता अनुसार विशेषज्ञ सेवा थप्दै लगिने छ  !!!
– ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालन गरिनेछ।

Emergency 24/7 Click here